२१ बैशाख २०८१, शुक्रबार

प्रकाण्डले भने,‘म एमाले प्रवेशको कुरा सोच्न पनि सक्दिन’


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफू एमाले प्रवेश गर्ने हल्ला सत्य नभएको बताएका छन् ।

एमाले प्रवेश गर्न लागेको समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि मंगलबार प्रवक्ता प्रकाण्डले आफू एमाले प्रवेश गर्न लागेको हल्ला साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचार भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’

उनले आफ्नो पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएका साम्राज्यवादी तथा दलाल पुँजीवादीका एजेन्टहरूको कुप्रचार मात्र भएको पनि बताएका छन् ।

एमाले प्रवेश गर्न लागेको भनेर कुप्रचार गर्ने दलाललाई जनताले कारबाही गर्ने पनि उनले बताएका छन् ।

‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।