बालविवाह न्यूनिकरणका लागि सामाजिक संस्थाहरुले गरे प्रतिबद्धता
सुर्खेत । बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल (क्याक्मा) कर्णाली प्रदेशले वाल विबाह बिरुद्ध १२ बुद्धे साझा प्रतिवद्धता गरेको छ । बालविवाह विरुद्धको अभियान सबैको साझा भएको भन्दै अभियानले सो प्रतिबद्धता गरेको हो ।
‘हामी बालविवाह प्रति सचेत छौं, हामीलाई बालविवाह स्वीकार्य छैन’ भन्ने प्रतिबद्धता जारी गर्दै बालविवाह बिरुद्धको अभियान कर्णालीबाट शुरु गरिएको छ ।
नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त बनाउने घोषणा गरेको छ । नेपाल सरकारको अभियानलाई सार्थक बनाउनका लागि क्याक्माले कर्णाली प्रदेशबाट नयाँ अभियानको थालनी गरेको छ । बालवालिकाको सवाललाई विकासको मुल प्रवाहमा ल्याउन सहयोग पुग्ने अपेक्षासहित कर्णाली प्रदेशका बिभिन्न जिल्लामा क्रियाशिल २२ वटा सामाजिक संस्थाहरुको भेलाले यो अभियान थाल्ने प्रतिबद्धता गरेको हो ।
बालविवाह बिरुद्ध अभियान सफल पार्न कानून, नीति, नियम र आचारसंहिताको पूर्ण रुपमा पालना गराउन अभियानले पहल गर्ने भएको छ । बालवालिकाका सवालहरुलाई मुल प्रवाहीकरण गर्न सबै सरोकारवालाहरुसँग एकिकृत रुपमा सहकार्य गरी प्रदेश र जिल्लास्तरमा सामाजिक जागरणका अभियानहरु संचालन गर्ने छन् ।
प्रतिवद्धतामा जोखिममा रहेका वालबालिकालाई केन्द्रमा राखी सबै प्ररकारका विभेद, शोषण, दुव्र्यवहार र वालविवाह मुक्त बनाउन भूमिका खेल्ने प्रतिबद्धतामा उल्लेख छ । जोखिममा रहेका बालबालिकाका लागि बालकोषको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहजीकरण गर्ने क्याक्माले प्रतिवद्धता व्यक्त गरेको छ । बालविवाह कानुनी रुपमै अपराध भएकाले यस बिरुद्ध सबैले क्रियाशिल रुपमा काम गर्ने प्रतिवद्धतामा जनाइएको छ ।
कर्णाली प्रदेशको राजधानी सञ्चालित दुई दिने भेलाले आगामी तीन वर्षे रणनैतिक योजना निर्माण समेत गरेको छ । प्रदेशका दश वटै जिल्लामा क्रियाशिल ३० वटा सामाजिक संस्थाका प्रतिनिधिहरुको भेलाले यस्तो निर्णय गरेको हो ।
सम्पन्न भेलाले कार्य समिति चयन, निर्देशिका निर्माण र अनुमोदन, १२ बुँदे साझा प्रतिवद्धता गरेको हो । यसका साथै बाल बिवाह बिरुद्ध कानून निर्माण र बजेटको ब्यबस्थापन गरी कार्यान्वयनमा तदारुकता देखाउन कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने गरी सो पत्रको पनि तयार गरिएको हो ।
कर्णालीपाटी । २३ फाल्गुन २०७८, सोमबार ११:४४