८ बैशाख २०८१, शनिबार

काँग्रेसकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न


कालीकोटः नेपाली काँग्रेस खाडाचक्र नगर कार्य समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहलाई केन्द्रीत गर्दै खाडाचक्र नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
खाडाचक्र नगरकार्य समितिका सभापति भानुभक्त आचार्यको सभापतित्व, नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्ण रोकायाको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सभापति अम्बहादुर शाही र प्रदेश कार्य समितिका सदस्य दमनबहादुर शाहीको विशेष आतिथ्यतामा भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा अधिकाँश कार्यकताले काँग्रेसमा एकरुपताको आवश्यकता भएको बताएका थिए । कालीकोटमा काग्रेसको भोट बढी भएपनि काँग्रेसका नेताहरुमा एकरुपता नभएका कारणले पटक–पटकको निर्वाचनमा पराजय व्यर्होदै आइरहेको बताएका थिए । जिल्लामा जहाँ काँग्रेसका नेता छन् त्यहि काँग्रेस कमजोर भएका कारणले काँग्रेसलाई बलियो बनाउनका लागि काँग्रेसका नेता गाउँ केन्द्रीत हुन कार्यकताले सुझाव दिएका छन् । सरकारले निर्वाचन तोकिसकेकाले अव कालीकोटमा स्थानीय तह निर्वाचनका लागि समयमै उम्मेदवार बनाएर चुनावी प्रचार प्रसारमा लाग्नुपर्ने बताएका थिए ।
कर्णालीमा काँग्रेसलाई बलिया बनाउने कर्णाली प्रदेश कार्य समितिको निर्णय बमोजिम पहिलो चरणमा कालीकोटमा अन्तरक्रिया गरिएको छ । कार्यकताको गुनासो र सुझाव संकलन गरि काँग्रेसलाई कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ अन्तक्रिया गरिएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेशका महामन्त्री कृष्ण रोकायाले बताए ।
उनले अरुलाई दोष दिनभन्दा पनि काँग्रेसमा एकरुपता कायम गरि आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पाटी बनाउन कार्यकतालाई निर्देशन दिए । उनले अहिले कम्यूनिष्टले एमसीसीका विषयमा भ्रम सिर्जना गरेकाले नागरिकलाई एमसीसीका विषयमा बुझाउन आवश्यक रहेको बताए । अहिले जनताको माझमा निर्वाचन र एमसीसीको जानकारी गराउन घरदैलोमा जान आग्रह गरे ।