बर्दिया निकुञ्जमा जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु


सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जको जंगलमा जंगली जनवारको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । आइतबार दिउँसो सुर्खेत भेरीगंगा नगरपालिका–५ गेरवानीका दुईजनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वली रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जंगलमा घाँस काट्न गएका वेला उनीहरुलाई जंगली जनावरले आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनीहरु आफ्नो घरदेखि तीन–चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको बफर एरियामा घाँस काट्न गएको अबेरसम्म नफर्किएपछि आफन्तले दिउँसो साढे चार बजेतिर अस्थायी प्रहरी पोस्ट बबईमा खबर गरेको र त्यसपछि खोजतलास गर्दा दुवै मृत भेटिए कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कर्णालीपाटी । ३० श्रावण २०७९, सोमबार ११:०३